तिलगंगामा आक्रमण गरेर भागेका मानिस कलंकीबाट पक्राउ, पेस्तोलसहितका हतियार बरामद

काठमाडौं । काठमाडौंको तिलगंगामा धारिलो हतियार प्रहार गरी फरार भएका ३७ वर्षीय सिकिलदेव सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको बानियापुर गाउँपालिका घर भएका सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार बिहान ११ बजेर ४० मिटनको समयमा सहनीले ३८ वर्षीय साविर हुसेनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । हुसेन बाराको कलैया नगरपालिका वडा नं. २१ घर भई हाल काठमाडौंको कोटेश्वर डेरा गरी बस्दै आएका छन् ।

हुसेनलाई सहनीले तिलगंगास्थित पि.के. डायगोनोस्टिक सेन्टर प्रा.लि.मा धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका थिए ।

धारिलो हतियार प्रहार गरी फरार भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी बृत्त गौशालाबाट प्रहरी टोली घाईतेलाई उपचारका लागि केएसपी अस्पताल सिनामंगलमा लगेर प्रारम्भीक उपचार गरिएको थियो ।

हुसेनलाई थप उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो ।

प्रहरीले घटना स्थलमा कटुवा पेस्तोल थान–१, गोली थान– १, धारिलो हतियार (चक्कु) थान– १, कालो झोला थान १ कोटेश्वरबाट गौर जाने बसको टिकट थान –१ फेला परेको छ ।

घटनामा संलग्न भई फरार रहेका व्यक्तिको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार कंलकीबाट सहनीलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेको सहनी उपर मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद– १२ को देहाय १८३ को ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ ।

सहनीलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहनीले हुसेनलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको विषयमा प्रहरीले केही भनेको छैन ।

Published : Tuesday, 2023 October 3, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया