कांग्रेस सकियो भनेर अफवाह फैलाउन खोजियो : उदयशम्शेर राणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले कांग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय पुराना राजनीतिक दलहरूप्रति युवाहरूमा मोह घटेको बताए । युवालाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने राणाले बताएका छन् ।
‘कांग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ’, राणाले भने, ‘युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनीहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’
उनले पछिल्लो समय कांग्रेस सकियो भनेर अफवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै नेता राणाले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको बताए ।
‘२०६४ सालको चुनावपछि पनि कांग्रेस सकियो भन्थे । हामी २०७० मा हामी फर्कियौं’, उनले भने, ‘अहिले फेरि त्यही भाष्य निर्माण गर्न खोजिँदैछ । आत्तिनुपर्ने बेला छैन ।’
उनले भने, ‘हामी संयमित भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौँ । हामी निराश होइन, संगठित भएर गाउँ गाउँमा क्रियाशील हुनुपर्छ ।’
पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले लोकप्रिय कुरा गरेर चर्चामा आउने तर, काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टीकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने बताए ।
‘यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन । अब हामी विकल्प दिएर अगाडि बढ्ने हो’, उनले भने, ‘कांग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ । त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ ।’
उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउँदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ । समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया