गौशालाबाट चोरी भएका मोटरसाइकलसहित भट्टेडाँडाबाट चार जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरमा चोरीको तीन थान मोटरसाईकलसहित चार जनालाई पक्राउ गरेको छ ।

बिहीबार बागमती गाउँपालिकाको वडा नं. ३ भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथ सडक खण्डमा प्रहरी चौकी भट्टेडाँडाबाट ड्यूटीमा खटिएका प्रहरी टोलीले शंकास्पद सवारी साधन चेकजाँच गर्ने क्रममा तीन वटा मोटरसाइकलहरूसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीलाई देख्नेवित्तिकै मोटरसाइकलहरू बाटोमा छाडेर मोटरसाईकलमा सवार पाँच जना मानिसहरू जंगलको बाटो हुँदै प्युटारतर्फ भाग्दै गरेका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ती मोटरसाईकलहरू प्रहरी बृत्त गौशालाको ईलाकाबाट चोरी गरी लगेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

तीन वटा मोटरसाइकल बरामद गरी पक्राउ मानिससहित थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला, काठमाडौं पठाइएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका वडा नं. ५ वतन बताउने वर्ष २४ को अजय मोक्तान, हरिवन नगरपालिका वडा नं. १० वतन बताउने वर्ष ३१ को ध्रुब प्रसाईं, बागमती नगरपालिका वडा नं. ३ वतन बताउने वर्ष २७ को सुदीप स्याङ्तान र मलंगवा नगरपालिका वडा नं. १ वतन बताउने वर्ष १९ को सुमितकुमार यादव रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले कालो रातो रंगको बा.प्र.–०२–३० प ८६२९ नम्बरको १५० सीसीको पल्सर, कालो निलो रंगको परिवर्तित नम्बर प्लेट बा.प्र.–०२–०२८ प. ०४०२ र वास्तविक नम्बर प्लेट बा.प्र.–०२–०४१ प ४७२३ रहेको २२० सि.सि. को पल्सर, कालो रातो रंगको लु ९५ प २४८७ नम्बरको २२० सीसीको पल्सर नियन्त्रणमा लिएको छ ।

Published : Friday, 2023 September 29, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया