दमकमा गोविन्दको हत्या, सनमको गिरोह फरार

काठमाडौं । झापाको दमकमा ग्याङ फाइट हुँदा छुरा प्रहारबाट ३८ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको छ ।

छुरा प्रहारबाट चुलाचुली गाउँपालिका वडा नं. ३ का लिम्बूको मृत्यु डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् । दमक–७ बस्ने २५ वर्षीय सनम राईले गोविन्द लिम्बूलाई छुरा प्रहार गरेका थिए ।

शुक्रबार बिहान ४ बजे दमक नगरपालिका वडा नं. १ कुमाल चोकमा दमक–७ हाट खोला र इलाम चुलाचुलीका युवाहरूबीच ग्याङ फाइट भएको डीएसपी रिजालले बताए ।

दमक– १ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरूसँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनका क्रममा विवाद हुँदा झडप भएको थियो ।

घाँटी र पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका गोविन्द लिम्बूलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ गोविन्द लिम्बूलाई चिकित्सकहरूले मृत घोषणा गरेको डीएसपी रिजालले बताएका छन् ।

छुरा प्रहार गर्ने सनम राईसहित दुई जना मोटरसाइकलमा फरार भएका छन् । फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको छ ।

Published : Friday, 2023 September 29, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया