सशस्त्र प्रहरीका पूर्व प्रहरी जवानको हत्या, सिमानामा भेटियो शव

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी जवान ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको अवस्थामा शव भेटिएको छ ।

बारा जिल्लास्थित नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सिंहको शव भेटिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजे समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा मंगलबार बिहान स्थानीयवासीले सिंहको शव देखेका थिए ।

सिंहको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताएका छन् ।

सशस्त्र प्रहरीको जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । उनले रक्सी पसल पनि बन्द गरेका थिए ।

प्रहरीले सिंहको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन् ।

सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएका थिए ।

दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् ।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको थियो । घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी तीव्र पारिएको छ ।

Published : Tuesday, 2023 September 26, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया