आचारसंहिता उल्लंघन हुन नदिने सञ्चालक र सम्पादकको प्रतिबद्धता
काठमाडौं । पत्रकार आचारसंहिताको उल्लंघन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् ।
सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष दृढतासमेत राखेका छन् ।
काउन्सिलद्वारा मङ्गलबार राखिएको ३१औँ पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षापछि उनीहरूले यस्तो प्रतिबद्धता र दृढता जनाएका हुन् ।
अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमित अभिमुखीकरणसहित अनुगमन गर्दै आएको छ । अभिमुखीकरण कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ सञ्चार माध्यम सञ्चालनमा आउनुमात्र ठूलो कुरा नभएको भन्दै जनमानसको विश्वास जित्न नसके सिङ्गो पेसा नै सङ्कटमा पर्नेतर्फ सचेत हुनुपर्ने बताए ।
‘हामीले नयाँ मिडिया दर्ता गर्यौँ । अब जसरी अघि बढे पनि हुन्छ भन्ने नसोच्नुहोला । जिम्मेवारी झन् बढेको छ, आजैबाट जनताको मन जित्ने, विश्वास जित्ने गरी समाचार लेख्न सक्नुपर्छ’, उनले भने, ‘होइन भने दुखका दिन शुरु हुन्छन् ।’
पत्रकारिताका आधारभूत मूल्य, मान्यता र आचारसंहिताको बन्धनभित्र रही पत्रकारिता गरे सफल भइ पेसा पनि मर्यादित हुने उनले बताएका छन् ।
विषयविज्ञ नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार आचारसंहिता २०७३, (पहिलो शंसोधन, २०७६)मा भएका व्यवस्थाहरूबारे प्रशिक्षण दिएका छन् । उनले पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे जानकारी गराएका छन् ।
अध्यक्ष पोख्रेलले पत्रकारले समाजमा आफैँ जन्मिरहेका समाचारलाई पत्रकारिताको मूल्य मान्यतामा रही सम्प्रेषण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । ‘जबरजस्ती समाचार बनाउन र आफूलाई न्यायाधीशको रूपमा प्रस्तुत गर्न हुँदैन’, उनले भने ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले बालमैत्री, अपाङ्गतामैत्री, महिला सञ्चार र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाबारे जानकारी दिएका छन् । उनले कनिष्ठ, वरिष्ठ र आचारसंहिता एवं पत्रकारिताको मूल्य मान्यताबारे खासै जानकारी नभएका गरी अनलाइन माध्यममा तीनखाले प्रवृत्ति देखिएको बताएका छन् ।
उनले भने, ‘तीन प्रवृत्तिमध्ये पहुँचको आधारमा विज्ञापन कब्जा गरी अनलाइन मिडिया चलाउन खोज्ने प्रवृत्तिले चुनौती बढाएको छ ।’
३५ वटा अनलाइन माध्यमका सञ्चालक/सम्पादक सहभागी अभिमुखीकरणको सहजीकरण सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया