डा.भक्तमान श्रेष्ठका अपहरणकारी १३ वर्षपछि पक्राउ

काठमाडौं । वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गरेको घटनाका फरार कसूरदार ३९ वर्षीय सुब्बा तामाङ ‘लुप्पा’लाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

डा. श्रेष्ठको अपहरणमा संलग्न नुवाकोटको विदुर नगरपालिका– १२ चारघरेका तामाङलाई शनिबार गाउँमै आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक पुष्प दर्लामीले बताएका छन् ।

प्रहरीले तामाङ आइतबार नुवाकोट जिल्ला अदालतमा पेस गरेको छ । तामाङलाई अदालतले कैद सजायको लागि कारागार चलान गर्न आदेश दिएको छ ।

चितवन जिल्ला अदालतको ०६९ जेठ २४ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक कसूरमा तामाङलाई दोषी ठहर गर्दैै १३ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।

०६७ जेठ ४ गते राति सवा दश बजे क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक ४८ वर्षीय डा. श्रेष्ठ चितवन अस्पतालबाट हिमचुली विकास बैंकनजिकको मोडमा रहेको क्वाटरतर्फ जाने क्रममा भीमसेन पण्डित, रोहित पलिवाल, बद्रीप्रसाद ढुंगाना, सुनील श्रेष्ठ, नवीन क्षेत्री, लुप्पा तामाङ भनिने सुब्बा तामाङ र गौतम योञ्जनसहितले अपहरण गरेका थिए ।

डा.भक्तमान श्रेष्ठलाई नुवाकोट, काठमाडौं र धादिङका विभिन्न स्थानमा राखेर फिरौती माग गरेका थिए ।

अपहरणकारीको समूहले पीडित परिवारलाई ईन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी साढे तीन किलो सुन फिरौती मागेको थियो ।

नेपाल तथा भारतमा बराबर बसोबास गर्ने रोहित पलिवाल अग्रवालले भारतबाट २०६७ जेठ ५ गते राति पीडित परिवारलाई इन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी फिरौतीको लागि साढे तीन किलो सुन बार्गेनिङ गरेका थिए ।

मिति २०६७ जेठ १९ गते अपहरितबाट फिरौतीबापतको सुन भारतको कानपुर आसपासको इलाकामा प्राप्त गरेपश्चात् सो समूहले जेठ २२ गते बिहान साढे २ बजे डा.भक्तमान श्रेष्ठलाई धादिङको मझिमटारमा छाडिदिएका थिए ।

उता, मकवानपुर प्रहरीले आइतबार गैँडा मारी खाग चोरी लगेको मुद्दामा फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको पदमपुर घर भई हेटौँडा उप–महानगरपालिका– १६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेका प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई हेटौँडा– १६ हटियाबाट शनिबार साँझ पक्राउ गरिएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

Published : Sunday, 2023 September 24, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया