वारदात गरेर भागेका चक्रबहादुर ३४ वर्षपछि तरहराबाट पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६१ वर्षीय चक्रबहादुर राईलाई ३४ वर्षपछि भोजपुर प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. ५ बस्ने चक्रबहादुर राईलाई पक्राउ गरिएको भोजपुर प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भोजपुरको साविक दोभाने गाविस वडा नं. ६ हालको साल्पासिलिछो गाउँपालिका वडा नं. ५ बस्ने पदमबहादुर राईले जाहेरी दिएका थिए ।

तत्काल समयमा अन्दाजी वर्ष २७ का चक्रबहादुर राई समेत अन्य तीन जना भएको कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा भोजपुर अदालतबाट मिति २०६०/०२/२७ गते फैसला भएको थियो ।

चक्रबहादुर राईसहितका प्रतिवादीहरूलाई सर्वस्वसहित जन्म कैद सजाय ठहर भएको थियो । प्रतिवादीहरू फरार रहेकाले मिति २०८०/०६/०५ गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले प्रतिवादीहरूमध्ये चक्रबहादुर राईलाई पक्राउ गरेको छ ।

चक्रबहादुर राईलाई सुनसरीको ईटहरी उप–महानगरपालिका वडा नं. २० तरहरामा लुकीछिपि बस्दै आएको अवस्थामा वारदात पश्चात ३४ वर्षपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोपजुरमा ल्याइएको छ । चक्रबहादुर राईलाई जिल्ला अदालत भोजपुरमा दाखिला गरिएको छ ।

Published : Sunday, 2023 September 24, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया