भोजपुरमा पेट बोकाउने श्रेष्ठ पक्राउ, परेली होटलमा छापा, एयर गनसहित कार्की पक्राउ

काठमाडौं । भोजपुर जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका–३ दावारबे टोल बस्ने श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको थियो ।

पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोकको नमोबुद्द नगरपलिका–७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

उता, सुनसरीको धरान उप–महानगरपालिका–१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको छ ।

Published : Sunday, 2023 September 24, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया