तुलसीपुर- ११ मा खुकुरी हानेर रीताको हत्या, कमला र बीरबहादुर घाइते

काठमाडौं । दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ११ बेलटाकुरा भगवती टोलमा ४२ वर्षीया रीता लामिछानेको हत्या भएको छ ।

शनिबार दिउँसो अन्दाजी साढे २ बजे स्थानीय ३८ वर्षीय टेकबहादुर हमालले आफ्नो घरबाट धारिलो हतियार खुकुरी निकाली रीताको हत्या गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नै घर अगाडि उभिइरहेको अवस्थामा घाँटीमा खुकुरी प्रहार गर्दा रीता लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।

रीताको हत्या गरेपछि टेकबहादुरले अन्दाजी ४५ वर्षीय बीरबहादुर हमाललाई दायाँ हातमा खुकुरी प्रहार
गरेका छन् ।

बीरबहादुरले अन्दाजी वर्ष ६५ कि कमलाकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरी हत्या भएको घटनाको सूचना पाउनेवित्तिकै प्रहरी चौकी जसपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिएको थियो ।

घाइतेहरू २ जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । कमलाकुमारी लामिछानेलाई थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

मृतक रीता लामिछानेको प्रारम्भीक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई निजकै घरभित्र लुकीछिपी बसेको अवस्थामा खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

टेकबहादुरले ‘देवी उत्रे’को भन्दै रीता, कमला र बीरबहादुरलाई अन्धाधुन्द खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

Published : Saturday, 2023 September 23, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया