‘कागबेनी’बाट आउट गरेपछि अनुपले उषालाई राखे डिनरको प्रस्ताव

काठमाडौं । नायिका उषा रजकले निर्देशक तथा अभिनेता अनुप बरालबाट आफू पीडित भएको आरोप लगाएकी छिन् ।

उषाले १७ वर्ष अगाडि राम्रो रोल र स्क्रिप्ट आउँदा दीया मास्केलाई मात्रै अवसर दिएको बताउँदै त्यो रोग अनुप बरालमा अहिले पनि कायम रहेको टिप्पणी गरेकी छिन् । उनले ‘कागबेनी’बाट आफूलाई हटाएर रातारात दीया मास्केलाई अनुप बरालले अवसर दिएको गुनासो गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘एक्टर स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म । १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ ।’

‘गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको पारिभाषा यस्तो छैन’, उषाले भनेकी छिन् । ‘२००६ : एक्टर स्टुडियोको ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भुषण दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, म, आशा मङ्ग्राती थियौं, अडिसनमा’, उनले भनिन् ।

‘कुरा कागबेनी, नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर, रातारात म आउट र दीया मास्के इन हुनुभयो’, उनले भनिन् ।
‘त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ’, उषाले भनिन् ।

‘यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाईले मान्नु हुनेछ कि उहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो’, उनले भनिन्, ‘दाईको पहिलो फिल्म थियो, उहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे ।’

उषाले भनिन्, ‘किन अहिले मात्र बोलिएको त उषा ? त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भा’को सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें ।’

‘१७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिँन, हो म अलिकति त कातर नै हो’, उषाले सामाजिक सञ्जालमा शुक्रबार लेखेकी छिन् ।
‘कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा नेपोटिजम्, फेब्रोटिजम् किन ? मैले एक्टर्स् स्टुडियोका धेरै विद्यार्थीले पछाडि–पछाडि यो कुरा भनेको सुनेको छु’, उनले भनिन्, ‘तर बिरालोको घाँटीमा कसले धन्टी बान्ने ?’

‘अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहिँबाट हुन्छ, अझैपनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दुषित ठाउँमा । ठीकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल’, नायिका उषाले आरोप लगाएकी छिन् ।

‘यतिभन्दा भन्दै, मलाई कसैप्रति रिश छैन । अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दीया आफैमा सक्षम अभिनेत्री हुन् । र, यो संसार यस्तै हो, अनि मै होला कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु’, उनले भनिन् ।

‘यतिभन्दा भन्दै, मैले कसैमाथि कुनै बेला जानी–नजानी अन्याय, धोका, अपमान गरेकी छु भनी भन्नुहोला । सच्याउने मौका सबैले पाउनुपर्छ’, उषाले भनिन्, ‘शायद यो सबै भन्ने म गलत पनि होला ।’

उनले भनिन्, ‘अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदुषित ? नो, हैन । धेरै राम्रा गुरुहरू भेटें, निष्पक्षीय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।’

‘कुरा प्रकाश फिल्मको– चलचित्र अवार्डप्रति मेरो आस्था छ । एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु’, उनले भनिन् ।

‘हिजो आर्टिकल पढें बेस्ट फिल्म अवार्ड हराएको रहेछ । फिल्म एकदम राम्रो छ, अवार्ड लायक । यसरी पुरस्कार गायब गरिएको बारे घोर निन्दा गर्दछु’, उषाले भनिन् ।

‘चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु । परेमा अझै साथ दिइनेछ । किनकी अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दु:ख हुन्छ भनेर । सबैको भलो होस् ! जय नेपाली सिनेमा’, नायिका उषाले भनेकी छिन् ।

Published : Friday, 2023 September 22, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया