भण्डारीको घरमा प्रहरीको छापा, ठूलो परिमाणमा हतियार बरामद

काठमाडौं । रुकुम पश्चिममा प्रहरीले ३६ वर्षीय झगेन्द्र भण्डारीको घरबाट भरूवा बन्दुक र भरूवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरेर प्रहरीले मुसिकोट नगरपालिका–६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारीलाई ३ नाल भरूवा बन्दुक बरामद गरेको जनाएको छ ।

नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करीव १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा बरामद भएको छ ।

गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित बिहीबार साँझ प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ ।

भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी उनलाई पक्राउ गरेको छ ।

हतियार र हतियार बनाउन प्रयोग हुने सामग्री बरादम भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Friday, 2023 September 22, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया