तलब नदिएपछि बिबादमा आएको कान्तिपुरमा फेरबदल, बाबुद्वारा छोरा नियुक्त

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्ना छोरा सम्भव सिरोहियालाई प्रबन्ध निर्देशकमा नियुक्त गरेका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सम्भवलाई नियुक्तिको निर्णय गरेको हो । कैलाश सिरोहियाले नै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । बाबुले छोरालाई प्रबन्ध निर्देशक बनाएका छन् ।

अध्यक्ष कैलास सिरोहियाले टिम स्पिरिटमा काम गर्दा कान्तिपुर देशको अग्रणी सञ्चारगृह बनेको दाबी गरेका छन् । कान्तिपुर मिडिया ग्रुप सुरुका दिनमा अग्रणी सञ्चारमाध्यम भएपनि अहिले यसको गुणस्तर निकै खस्किएको छ । आफ्ना कर्मचारीलाई तलब नदिएपछि आन्दोलनको सामना गर्नु परेको थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक सम्भव सिरोहियाले कान्तिपुरले तीन दशकसम्म अभ्यास गरेको सम्पादकीय स्वतन्त्रतालाई सम्मान गर्दै पत्रकारितालाई अझ बलियो बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

सम्भवले भने, ‘अहिले हाम्रो समूहका पत्रिका, रेडियो, अनलाइन र टीभीमात्र होइन, समग्र पत्रकारिता नै जोगाउनु पर्नेछ । हामी यो सबै सामना गरेर नयाँ उचाइमा लैजान चाहन्छौं ।’

तत्कालीन समयमा काठमाडौंको बबरमहलमा यिनै सम्भव सिरोहियाले ठूलो दुर्घटना गरेको आरोप लागेको थियो । गाडीमा युवती पनि रहेको र सो दुर्घटनालाई गुपचुप बनाएको आरोप लागेको थियो ।

Published : Monday, 2023 September 18, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया