वार्तामा सहमति भएपछि चिकित्सकहरूको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । आइतबार भएको सहमतिसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको वार्ता समिति र नेपाल चिकित्सक संघका प्रतिनिधिबीच सहमति भएको छ ।

सहमतिमा हेटौंडामा चिकित्सकलाई कुटपिट गर्नेहरू विरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधित ऐनअनुसार, कारबाही प्रक्रिया अघि बढाइने भएको छ । यस ऐनअनुसार, फौजदारी कसूरमा कारबाही हुन्छ ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वय विकास थापा र डा. प्रशान्त बिडारीलाई कुटपिट गरिएको थियो ।

कुटपिटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

यो घटनापछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । उनीहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिले दिनभर आन्दोलनरत स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो ।

दुवै पक्षबीच भएको सहमति पत्रमा समितिका तर्फबाट डा. देवकोटा, सदस्यहरू केदारनाथ शर्मा, निर्मला अधिकारी भट्टराई, संगीता आझो र सदस्य सचिव रमेशकुमार केसीले हस्ताक्षर गरेका छन् ।

आन्दोलनरत स्वास्थ्यकर्मीका तर्फबाट चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, डा. नन्दा गुरुङ, डा. प्रशान्त भट्ट, डा. संजिव तिवारी, डा. लिजन महर्जन, डा. विक्रान्त ढकाल, डा. सिर्जना विष्ट, डा. योविनकुमार यादव र डा. तेजसुसिंह मल्लले हस्ताक्षर गरेका छन् ।

Published : Sunday, 2023 September 17, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया