सुनसरीमा दुई महिलाको हत्या

काठमाडौं । सुनसरीमा आफ्नै श्रीमानले पत्नी र देवरले भाउजुको हत्या गरेको घटना बाहिर आएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ की २३ वर्षीया निकिता चौधरीका श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले घाटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन् ।

दाइजोका विषयमा विवाद भएपछि शनिबार राति १० बजे भगतले घरको सुत्ने कोठामा निकिताको हत्या गरेको भाइ राकेशको दावी छ ।

निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो । भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन् ।

निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताएका छन् ।

उनीहरूको विवाहमा निकिताका माइतीले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको बताइएको छ ।

निकिताका ११ महिनाका छोरा छन् । उनको हत्या पश्चात नाबालक छोराको बिचल्ली भएको छ ।

यसैबीच, सुनसरीकै कोशी गाउँपालिका–७ स्थित हरिपुरमा ३० वर्षीया एकल महिला उषा महतोको हत्या भएको छ ।

महतोको १९ वर्षीय देवर सन्तोष महतोले फोनमा अरूसँग कुरा गरेको आरोपमा विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

एक वर्षअघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुपर्ने भनेर गलत मनसायका साथ पटकपटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विष खुवाई बेहोस बनाएका कारण उषाको मृत्यु भएको बताइएको छ ।

बिष खुवाएर गम्भीर घाइते भएकी उषालाई तत्काल जिल्ला अस्पताल इनरुवा लगिएकोमा थप उपचार गर्न कोशी अस्पताल रेफर गरेको थियो ।

सोही राति आमाको मत्यु भएको उषाका १२ वर्षीय छोरा राजेश महतोले बताएका छन् । उनले आमालाई काका सन्तोषले यातना दिने गरेको बिष सेवन गराई हत्या गरेको बताएका छन् ।

प्रहरी प्रमुख रेग्मीले उषाको मृत्यु सम्बन्धी उजुरी नपरेको बताएका छन् । उनले उषाले आफै बिष सेवन गरेको वा कसैले बिष खुवाएको विषयमा अनुसन्धान भइरहेको बताए ।

उषाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । उनका तीन छोराछोरी छन् । एक वर्षअघि पति रन्जीत महतोको मृत्यु भएको थियो ।

Published : Sunday, 2023 September 17, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया