काठमाडौंमा चार जनाको सामूहिक हत्या गर्ने व्यक्ति बोल्न नसक्ने, घर कहिले जान पाउँछु भनेर सोधे

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित श्री दीव्य स: मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्डका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

आइतबार जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रहरीले अभियुक्त भण्डारी र हत्या प्रकरणबारे सार्वजनिक गरेको छ । मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन भण्डारीले हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का घर भई हाल काठमाडौंको काँडाघारी, वीरेन्द्रचोक बस्दै आएका भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको एसएसपी राठौरले बताए ।

केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्कर दिएपछि राईले भण्डारीलाई कुटपिट पनि गरेका थिए ।

भण्डारी जन्मजात बोल्न सक्दैनन् । भण्डारीले त्यसपछि राईसँग पटकपटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए ।

कुरा हुन नसकेपछि शुक्रबार भण्डारी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा गएका थिए । मिलमा भण्डारीले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरेका प्रहरीले जनाएको छ । त्यसपछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिएको एसएसपी राठौरले बताएका छन् ।

भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए ।

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए । आइतबार बिहान भण्डारी काठमाडौंमा प्रहरीले आफूलाई पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए ।

पक्राउ पर्दा भण्डारीले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए । झोलामा खुकुरी राखेका थिए ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेको प्रहरीले जनाएको छ । भण्डारीले आफूलाई मिडियाको सामु नदेखाउन पनि आग्रह गरेका थिए । उनले हत्या गर्दा प्रहरीले पक्राउ गर्छ र कारबाही हुन्छ भनेर पनि थाहा नभएको लेखेर बताएको प्रहरीले जनाएको छ ।

उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठौरले बताएका छन् ।
भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको खुलेको छ ।

हत्याको घटनापछि भण्डारी दिदिभिनाजुको घरमा सुत्न गएका थिए । सिन्धुपाल्चोकमा कक्षा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म अध्ययन गरेका भण्डारी बोल्न सक्दैनन् ।

बयानका क्रममा उनले प्रहरीसँग आफू कहिले घर जान पाउँछु भनेर सोधेका थिए । भण्डारीमाथि सांकेतिक भाषाविज्ञ झिकाइ अनुसन्धान गरिएको छ ।

Published : Sunday, 2023 September 17, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया