व्यूरोद्वारा काठमाडौंमा दाङका सञ्जयसहितका मानिस पक्राउ, अमेरिकादेखि काठमाडौंसम्म कनेक्सन

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको लागुऔषधहरू बरामद गरेको छ ।

व्यूरोले तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट पठाइएको गाँजा डेलिभरी गर्नेछ । खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको छ ।

कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न कन्ट्रोल डेलिभरी गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्काे कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ ।

गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ ।

हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ ।

ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।

Published : Sunday, 2023 September 17, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया