दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु सुनौलो रङको कुटुवासहित ६ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट सुनौलो रङको कछुवासहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका–८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका–४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका–२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रेको नमोबुद्ध नगरपालिका–३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका छन् ।

टोखा नगरपालिका–५ स्थितमा अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 September 17, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया