क्यानडा पठाउँछु भनेर काण्ड गर्ने पुरी काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले २४ वर्षीय सुजन पुरीलाई वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ सानटारी बस्ने पुरीलाई भदौ २४ गते चार बजे सानटारीबाट फत्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरीले भूमिराज राईलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भनेर १० लाख ८५ हजार रुपियाँ ठगी गरेको विज्ञप्तिमा उल्लेख छ । क्यानडामा रोजगारीमा जान १५ लाख रुपियाँ लाग्छ भनेर पुरीले राईसँग १० लाख ८५ हजार रुपियाँ लिएका थिए ।

पुरीले क्यानडामा मासिक दुई लाख रुपियाँभन्दा धेरै तलब हुन्छ भनेर प्रलोभनमा पारेका थिए । पुरीले राईलाई क्यानडा पुगेपछि सेक्युरिटी गाडीमा लगाइदिन्छु भनेर आश्वासन दिएका थिए ।

राईसँग रकम लिएपछि पुरी फरार भएका थिए । वैदेशिक रोजगार विभागले पुरीलाई पक्राउ गरेर उपस्थित गराउन भनेपछि प्रहरीले खोजी गरेर विभागमा बुझाएको जनाएको छ ।

Published : Tuesday, 2023 September 12, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया