काठमाडौंको बनकालीमा रहेको वृद्ध आश्रममा हत्या

काठमाडौं । प्रहरीले काठमाडौं र रसुवाबाट हत्याको अभियोगमा दुई जना बृद्धलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुरको भीमफेदी गाउँपालिका–४ घर भएका ५० वर्षीय अमरराज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उप–महानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगतबहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जगतबहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उता, रसुवामा आफ्नै श्रीमती ७१ वर्षीया सीता कामीको हत्या गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका–६ रेडपाण्डा चोकस्थित भुकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सीता कामी आफ्नै आवासस्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुलाल कामीले कुटपिट गरी हत्या गरेको भन्ने खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 September 12, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया