एमजीका नयाँ गाडी, कस्ता छन् फिचर र मूल्य ?

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी ४ इभी सार्वजनिक गरेको छ ।

नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् । पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।’
‘स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरू अत्यन्तै उपयुक्त हुन्छन्’, उनले भने ।

एमजी कमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो । सिंगल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ केडब्ल्युएचको ब्याट्री र ३१.२६ केडब्ल्युको मोटर हो ।

एमजी कमेट इभीमा यात्रुको सुरक्षाको लागि आइपी ६७ रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ ।

सुविधा र सहजताको लागि एमजी कमेट इभिमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटर जस्ता सुविधाहरू रहेका छन् ।

एमजी कमेट इभीको सुरूवाती मूल्य १७ लाख ९९ हजार रुपियाँ रहेको छ भने यो प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।

एमजीले कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ । हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजी ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ ।

कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजी कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ केडब्ल्यूएच र ९९ केडब्ल्यूको मोटर रहेको छ ।

एमजी लक्जरी इभीको ब्याट्रि क्षमता ६४ केडब्ल्यूएच र १५० केडब्ल्यूको मोटर रहेको छ । एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो ।

एमजी ४ इभिले सिङल चार्जमा ४३४ किलोमिटरसम्मको रेन्ज दिन्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजी ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ ।

यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरू रहेका छन् भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरू रहेका छन् ।

एमजी ४ इभीको लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ । हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ ।

एमजी ४ कम्फर्ट इभीको सुरूवाती मूल्य ४१ लाख ४९ हजार रुपियाँ रहेको छ । एमजी लक्जरी इभीको सुरूवाती मूल्य ५८ लाख ९९ रहेको छ ।

एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरू रहेका छन् । यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी प्रदान गरेको छ ।

Published : Monday, 2023 September 11, 12:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया