क्षेत्रीलाई पक्राउ गर्न रेड कर्नर नोटिसको तयारी

काठमाडौं । नेपाल प्रहरीले बर्दिया कारागारबाट भागेका भाइ–नाइके ३० वर्षीय अजीव बुढा क्षेत्रीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।

भदौ १७ गते बिहान सवा ३ बजे बिहान अजीव पर्खाल नाघेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख (एसपी) सुधिरराज शाहीले फरार रहेका अजीवविरूद्ध रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

अजीवलाई खोज्न नेपाल प्रहरी र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी भइरहेको छ । उनी नेपाल र भारतको जंगलमा लुकेर बसेको अनुमान प्रहरीको छ ।

फरार अजीव भारतमा लुकेर बसेको हुन सक्ने अनुमान प्रहरीको छ । भाइ नाइके अजीव फरार भएपछि छानबिन गर्न गठिन समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा अजीव जेलको पर्खाल नाघेर भागेकै दिन पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

समितिले बुझाएको प्रतिवेदनमा कारागारका प्रमुख सन्तोष बिक, ड्युटीमा खटिएका सईसहित चार जना प्रहरीलाई विभागीय कारबाहीको मागसहित गृह मन्त्रालयमा पत्राचार भएको छ ।

भदौ २० गते फरार रहेका अजीवको हुलिया सार्वजनिक गर्दै बर्दिया प्रहरीले सूचना दिएर सहयोग गर्न आग्रह गरेको छ ।

प्रहरीले जारी गरेको अजीवको हुलियामा दाहिने हातको नाडी नजिक सानो पेस्तोलको ट्याटु र दाहिने छातीको माथिल्लो भागदेखि कुमसम्म डमरूको ट्याटु रहेको उल्लेख छ ।

अन्दाजी ५ फिट ७ इन्चका उचाइँ भएका अजीव बोल्ने क्रममा हिन्दी लवजमा नेपाली बोल्ने गरेको कुरा उल्लेख छ ।

अजीवले २०७२/११/०५ गते बेलुकी ५९ वर्षीय छिमेकी जोरासिंह थापामाथि धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए ।

अजीवलाई अदालतमा बयान गराउन लग्दा २०७२ चैत ३० गते प्रहरीलाई झुक्याउँदै अदालत परिसरबाटै भाग्न सफल भएका थिए ।

शौचालय जाने बाहानामा हतकडी खोल्न लगाइ अजीव शौचालयबाट भागेका हुन् । अदालतले अजीवलाई ३० वर्षको कैद सजाय तोकेको छ । भाइ नाइकेको सुविधालाई दुरुपयोग गरेर अजीव भागेका हुन् ।

Published : Sunday, 2023 September 10, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया