लगातार चार महिनादेखि चीनको अर्थततन्त्रमा गिरावट

लण्डन । चीनको निर्यात लगातार चौथो महिनामा घटेको छ । चीनको आन्तरिक र बाह्य माग घटेपछि विश्वभर टाउको दुखाइको विषय बनेको बीबीसीले जनाएको छ ।

अगस्टमा चीनको निर्यात ८.८ प्रतिशत घटेको छ । आयात ७.३ प्रतिशतले घटेको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा उल्लेख्य गिरावट हो ।

यो गिरावट चीनको सरकारी निकायले गत महिना गरेको प्रक्षेपणभन्दा नराम्रो भने होइन । चीनले कोरोना महामारीपछिको कठिन समय भोगिरहेको छ ।

चीनमा घरजग्गाको कारोबारमा मन्दी आएको छभने आन्तरिक खपत र माग समेत घटेको छ । चीनको आन्तरिक बजारसँगै अमेरिका, युरोपसहित विश्वभरबाट आउने चिनियाँ वस्तुको मागमा समेत गिरावट आएको छ ।

अमेरिकाको तथ्यांक कार्यालयको एउटा रिपोर्टअनुसार चीनबाट आयात हुने सामान सन् २००६ यताकै न्यून अवस्थामा पुगेको छ । अहिले अमेरिकामा हुने कूल आयातको १४.६ प्रतिशत हिस्सा छ । जुन, सन् २०१८ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिले अमेरिका–चीन व्यापार युद्ध छेड्नु अघिसम्म २१.८ प्रतिशत थियो ।

चीनमा घरजग्गाको कारोबारमा पूर्णरुपमा मन्दी छाएको छ । चीनको सबैभन्दा ठूलो घरजग्गाको कारोबारी कम्पनी एभरग्रान्डे आर्थिकरुपमा संघर्ष गर्दैछ ।

जबकी, बेइजिङले आफ्नो खस्कँदो अर्थतन्त्रलाई पुन: उत्थान गर्ने विशेष कार्यक्रमको थालनी सुरु गरिसकेको छैन ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले पश्चिमा मिडिया र राजनीतिज्ञले आफ्नो अर्थतन्त्रमा देखाइरहेको अनावश्यक चासोको विरोध गरेको छ ।

Published : Friday, 2023 September 8, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया