ग्रिसमा पाकिस्तानीको कब्जामा तीन नेपाली, चार जनालाई नेपालमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ग्रिसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

सीआईबीले शुक्रबार विज्ञप्ति जारी गरेर पाकिस्तानी नागरिकहरूसँग मिलेर तीन जना नेपाली नागरिकलाई बन्धक बनाएर २१ लाख फिरौती रकम माग गर्ने चार जना नेपालीहरूलाई पक्राउ गरेको जनाएको छ । सीआईबीले चार जनालाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ ।

वैशाख १२ गते मोरङको रंगेली नगरपालिका वडा नं. २ बस्ने यदुराज थापाको छोरी वर्ष २५ की सवित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने तिलकबहादुर कार्कीको छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. १ मथुरापाटी बस्ने वर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्यालहरू सर्वियाबाट ग्रिस प्रवेश गर्ने क्रममा पाकिस्तानी नागरिकले बन्धक बनाएका थिए ।

यी तीन जना नेपालीहरू सिजनल भिषामा सर्विया गएका थिए । सर्वियामा चित्त बुझ्दो रोजगारी र तलब नपाएपछि उनीहरू भागेर ग्रिस प्रवेश गर्ने क्रममा पाकिस्तानीको फन्दामा परेका थिए ।

पाकिस्तानी नागरिकले नेपालमा रहेका धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ घर घइ हाल काठमाडौंको गौरीघाटमा बस्दै आएका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ का ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतको फलेबास नगरपालिका वडा नं. १ का ४२ वर्षीय दिलबहादुर थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई अपहरण, बन्धक तथा फिरौती रकम लिएको कसूरमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हिन्दी भाषा बोल्ने पाकिस्तानी नागरिकले तीन जना नेपालीहरूलाई बन्धक बनाएर ह्वाट्स एपमार्फत ग्रिस र दुबईबाट पीडितका आफन्तसँग सम्पर्क गरी १५ हजार यूरो डलर फिरौती माग गरेका थिए ।

पीडितका आफन्तले सीआईबीमा निवेदन दिएपछि बन्धक बनाइएका नेपालीको सकुशल भएको छ । व्यक्ति अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भइ पक्राउ परेका चार जनालाई थुनामा राखिएको छ ।

Published : Friday, 2023 August 25, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया