आँखाका डा.महतो पक्राउ

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक ४२ वर्षीया डा.दीपेन्द्रकुमार महतो पक्राउ परेका छन् ।

मदिराले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा सिरहाको मिर्चैया–२ घर भएका डा.महतो पक्राउ परेका हुन् ।

डा.महतोविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताएका छन् ।

डा.महतोलाई प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो । डा.महतोले यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका छन् ।

सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डा.महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेको प्रहरीको भनाइ छ ।

पीडितले अभद्र व्यवहारमा जाहेरी दिएपछि पक्राउ गरी सोमबार म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङबाट डा.महतोलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

Published : Tuesday, 2023 August 8, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया