काठमाडौंमा अनिताको हत्या, ललितपुरमा हिमको कुटपिटबाट मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिकामा ज्ञानबहादुर भन्ने हिम परियारको कुटपिटबाट हत्या भएको छ ।

ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाही घर भएका ५३ वर्षीय परियारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य विवादका कारण सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको छ ।

यता, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

बुढानिलकण्ड नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरासिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 August 1, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया