दश लाखसहित जुवा खेल्ने धादिङका वडाध्यक्षको समूह काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा प्रहरीले आइतबार राति छापाहानेको थियो ।

जुवातास खेलिरहेको अवस्थामा बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपियाँ र २ हजार ५ सय भारतीय रूपियाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठसमेत छन् ।

पक्राउ पर्ने अन्यमा बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धिरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका किरण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल छन् ।

Published : Monday, 2023 July 31, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया