मञ्जुको शव फेला, गोमासहित ४ जना पक्राउ

काठमाडौं । कैलाली जिल्लामा घरबाट सम्पर्कबिहीन मञ्जु रावलको शव फेला परेको छ ।

मञ्जुको शव आइतबार फेला परेको हो । लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मञ्जुको अस्थिपञ्जर मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

सेतीखोर खोलाबाट अन्दाजी २ सय मिटर टाढा खोलामा मञ्जुको शरीरको केही भाग कंकाल भएर छरिएको अवस्था फेला परेको छ ।

आफन्त र माइतीले शवको लुगाका आधारमा मञ्जुको पहिचान गरी सनाखत गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् ।

मञ्जुको हत्या आरोपमा ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका– ६ तोली बस्ने ३७ वर्षीया सरिता रावललाई पक्राउ गरिएको छ ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा घटनाको मुख्य योजनाकार रहेकी गोमाले अपराध स्वीकार गरेको डीएसपी चन्दले बताएका छन् ।

गोमाले आफ्ना स्व.श्रीमानको सम्पत्ति हासिल गर्न अरू व्यक्तिहरूलाई मञ्जुको हत्या गर्न लगाएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

हालसम्मको प्रारम्भीक अनुसन्धानले गोमाले मञ्जुको हत्या गराउनुको मुख्य कारण सम्पत्ति रहेको देखाएको छ । गोमा जनकबहादुर रावलकी श्रीमती हुन् । जनकले कान्छी श्रीमतीका रूपमा मञ्जुलाई विवाह गरेका थिए ।

२०७६ सालमा मञ्जु र जनकले सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए । जेठी गोमासँग भने वैवाहिक सम्बन्ध कायमै थियो ।

मञ्जुसँग सम्बन्ध विच्छेद भएको एक वर्षपछि, २०७७ चैत ४ गते जनकको मृत्यु भएको थियो । जनकको मृत्युपछि चैत २२ गते जेठी श्रीमती गोमा र मञ्जुले श्रीमानको मृत्यु दर्ता गर्ने सहमति गरेका थिए ।

वडा कार्यालय पुगेर जनकको मृत्यु दर्ता पनि गराएका थिए । चैत २९ गते गोमाफेरि वडा कार्यालयमा पुगिन् र जनकसँग मञ्जुको सम्बन्ध विच्छेद भइसकेकाले उनको हक नलाग्ने भन्दै मृत्यु दर्ताबाट मञ्जुको नाम हटाइदिन भनेकी थिइन् ।

मञ्जुले गोमाका छोरा र भतिजबाट धम्की आएको भन्दै इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएकी थिइन् ।

मञ्जु २०८० जेठ २५ गतेदेखि एकाएक बेपत्ता भएकी थिइन् । हप्ता दिनसम्म सम्पर्कमा नआएपछि असार १ गते मञ्जुका छोरा विवेक रावलले आमा हराएको भन्दै इलाका प्रहरी कार्यालय, लम्कीमा निवेदन दिएका थिए ।

डेढ महिना लामो अनुसन्धानपछि आइतबार मञ्जुको शव फेला परेको छभने हालसम्म घटनाका आरोपित चार जना पक्राउ परिसकेका छन् ।

Published : Monday, 2023 July 31, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया