दाङमा १७ किलो चित्तलको सुकुटीसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले १७ किलो चित्तलको सुकुटीसहित दाङमा तीन जनालाई पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका वडा नं. ३ कुइरेपानी जंगलबाट तीन जनालाई आइतबार साँझ साढे ५ बजे पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा लमही नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ को नुरबहादुर कुमाल, गढवा गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३० को मनोज थापा मगर र वर्ष ३१ को करण केसी रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षक बत्तीकुमार पोख्रेलको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले सडक बाटोमा आवत जावत गर्ने सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा १७ किलो सुकुटी बरामद भएको थियो ।

लमहीदेखि घोराहीतर्फ आउँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र उनीसँगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडि सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा सुकुदी बरामद भएको छ ।

चितलको मासु जस्तो देखिने सुकुटी जन्य पदार्थ फेला पारी बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाइएको छ ।

Published : Sunday, 2023 July 30, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया