व्यूरोले चिनियाँ नागरिक लियाङ च्युनको धन्दा बन्द गरिदियो

काठमाडौं । थाइल्यान्डको प्रलोभन देखाएर म्यानमारमा नेपालीहरूलाई बन्धक बनाउने चिनियाँ नागरिक ४२ वर्षीय लियाङ च्युनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

व्यूरोले चिनियाँ नागरिक ४२ वर्षीय लियाङ च्युनलाई काठमाडौंबाट पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमार्फत जनाएको छ । उनलाई काठमाडौंको विजेश्वरीबाट पक्राउ गरिएको छ ।

लियाङ च्युन नेपालमा भिजिट, स्टुडेन्ट र बिजिनेश भिसामा बस्दै आएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताएका छन् ।

विभिन्न भिसामा नेपाल बस्दै आएका उनले विभिन्न व्यवसायमा लगानी गरेको प्रवक्ता पंगेनीले बताए ।

गिरोहमा हालसम्म १० जना नेपाली परिसकेका छन् । पीडितहरू फिरौती रकम तिरेरमात्रै नेपाल आउन सफल भएका थिए ।

जाहेरवाली महिलाका अनुसार लियाङले ४–५ महिनासँगै काम गरिसकेपछि थाइल्याण्डमा कम्प्युटर टाइइपीङसम्बन्धी रोजगारीमा लैजान प्रस्ताव गरेका थिए ।

गिरोहले थाइल्यान्डमा आकर्षक रोजगारी पाउने भन्दै नेपाली नागरिकलाई प्रलोभन देखाउने र म्यान्मार पुर्‍याउने गरेको पीडितको भनाइ छ ।

म्यानमार पुगिसकेपछि सक्कल राहदानी र मोबाइल जफत गरी बन्धक बनाउने र विभिन्न सामाजिक सञ्जालमार्फत् दिनको २० घण्टासम्म अनलाइन स्क्याम गर्न लगाई शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितको भनाइ छ ।

बन्धक बनाइएका नेपालीसँग अमेरिकी नागरिकहरूलाई नक्कली फेसबुकबाट क्रिप्टोकरेन्सी, बिट क्वाइनलगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

घटनामा अन्य दुई जना चिनियाँ नागरिकको संलग्नता रहेको र उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लियाङलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपिएको प्रवक्ता पंगेनीले बताएका छन् ।

एसपी पंगेनीले गिरोहमा आबद्ध अन्य चिनियाँ नागरिकको खोजी भइरहेको बताएका छन् ।

Published : Thursday, 2023 July 13, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया