काठमाडौंको ‘ज्याक डेनिस डान्सबार’मा केटा-केटीहरू मिलेर लुटपाट, प्रहरीद्वारा पक्राउ

काठमाडौं । काठमाडौंको रातोपुलस्थितमा ‘ज्याक डेनिस डान्सबार’मा भारतीय नागरिकलाई डरधम्की दिइ लुटपाट गर्ने ३ पुरुष र ३ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीका अनुसार भारतीय नागरिकलाई काठमाडौं भ्रमण गर्न तथा पशुपतिनाथ दर्शन गर्न आएका भारतीय नागरिकहरूलाई लुटपाट गर्ने ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका– ४ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने वर्ष २३ का अर्जुन कुवँर, काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ घर भई हाल सिनामंगल बस्ने वर्ष ३१ का शुभकुमार तामाङ र सुनसरीको रामधुनी नगरपालिका– ७ घर भई चाबहिल बस्ने वर्ष ४० का ईन्द्र काफ्ले रहेको एसएसपी कार्कीले बताएका छन् ।

पक्राउ पर्नेमा धादिङको खनेबास गाउँपालिका– १ घर भई हाल सिनामंगल बस्ने वर्ष २२ की सुमिना तामाङ, मकवानपुरको राक्षरानघाटेचोक नगरपालिका– २ घर भई हाल माछापोखरी बस्ने वर्ष २२ की रिया शाह ठकुरी र धादिङको खरियाबास गाउँपालिका– १ घर भई हाल माछापोखरी बस्ने वर्ष २० की आस्मा तामाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

असार २५ गते बेलुका थानकोट नाकाबाट काठमाडौं भित्रदै गर्दा नाम थर वतन नखुलेका १ जना व्यक्तिले भारतीय नागरिक सवार गाडी रोकी तपाईहरूलाई खाने बस्ने राम्रो व्यबस्था गरिदिनुको साथै नेपाल घुम्नको लागि सहज बनाइदिन्छु भनि विश्वासमा लिएको अनुसन्धानका क्रममा खुलेको छ ।

काठमाडौंको रातोपुलमा रहेको ज्याक डेनिस डान्सबारमा लगेर महिला कर्मचारी समेतको संलग्नतामा डर त्रासमा पारी भारतीय रकम अठ्ठाईस हजार मोबाईल सेवामार्फत ट्रान्सफर गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

भारतीय नागरिकको साथमा रहेको पाँच हजार समेत लिई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध आपराधिक विश्वासघात कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट अनुसन्धान कार्य भइरहेको छ ।

Published : Wednesday, 2023 July 12, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया