धेरै प्रश्न गर्दै अभिनेता पल शाहले क्षमा मागे

काठमाडौं । अभिनेता पल शाहले कसैको नाम उच्चारण नगरेर दिएको आफ्नो अन्तर्वार्ताबाट पर्न गएको असरप्रति क्षमा मागेका छन् ।

शाहले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर क्षमा मागेका हुन् । उनले भने, ‘एक वर्षे कारागार बसाइँमा मैले पाएका दु:खलाई आँशुले छिपिक्क भिजाएको छु । पीडाको पहाड छ ।’

‘तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दु:खलाई खुसी मुद्रामा साट्दा तपाइँहरूमा परेको असरप्रति क्षमा चाहन्छु’, शाहले भनेका छन् ।
‘कानूनले तँ सही छस् भनेर सफाई दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदो रहेछ… सबैमा माया सम्मान र धन्यवाद’, उनले भने ।
‘अदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमा म बलात्कारी हुँ लेखेर हिँडौ कि दु:ख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ ? मलाई पल शाह बनाएको तपाईहरूले हो यस कारण म प्रश्न पनि तपाईहरू समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिडौँ ? कसरी बोलौँ ? कसरी खाउँ ? कसरी लाउँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’, शाहले प्रश्न गरेका छन् ।
उनले भने, ‘मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । मभित्र पनि मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपाईहरू जस्तै…।’
‘ममाथि आरोप लाग्यो, मैले कानूनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट सफाई पाएर म तपाईहरू जस्तै सामान्य जीवनयापन र कर्म गर्दै आइरहेको छु’, उनले भने ।
‘मलाई थाहा छ । बुझेको पनि छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ’, उनले भने, ‘म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु ।’
उनले भने, ‘पछिल्लो समय कान्तिपुर टिभीबाट प्रसारित ह्वाट्स द फ्लप शोमा मैले अन्तर्वार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ ।’
‘प्रसारित कार्यक्रममा हाँसीहाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो जस्ता आरोप लागेका छन्’, उनले भने ।
‘म एक्लै यो धर्तीमा कहिँबाट उत्पत्ति भएको हैन । मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोँच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला ? कस्तो दाग रहला ? कहिल्यै त्यो ठाउँमा आफ्नो परिवार राखेर सोँच्नु भएको छ ?’, उनले प्रश्न गरेका छन् ।
‘म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानूनलाई शिरोपर गरी कानूनलाई सघाएको मानिसले कानून उल्लंघन या कसैको अवहेलना गर्नेबारे सोँच्नसम्म सक्दिन’, उनले भने ।
अभिनेता शाहले भने, ‘मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँभित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपील गर्दा पनि मैले गाली खानु पर्ने हो ? म मेरा दु:खका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ?’
‘म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो ? या मैले मेरा दु:खका अनुभव हाँसीहाँसी साट्न र जित्न पनि पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईहरू जान्ने बुझ्नेले मलाई उत्तर दिनु होला’, शाहले भनेका छन् ।

Published : Monday, 2023 July 10, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया