दाङ घर भएका गुप्तचरका कर्मचारी बलात्कार काण्डमा काठमाडौंमा पक्राउ

काठमाडौं । बलत्कारको अभियोगमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारी दामोदर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ३३ वर्षीया महिलालाई जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङको राप्ती गाउँपालिकाको बिजौरी स्थायी घर भएका पौडेललाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रवक्ता (एसपी) सीताराम रिजालले बताएका छन् । सूचक पौडेल काठमाडौंको बबरमहलस्थित हनुमानस्थानमा डेरा लिएर बस्दै आएका थिए ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरिएको रिजालले बताए । अधिवक्ता समेत रहेका पौडेललाई काठमाडौं प्रहरीअन्तर्गतको महिला सेलमा राखिएको छ ।

पीडितले प्रहरीलाई दिएको प्रारम्भीक बयानअनुसार सामाजिक सञ्जालमार्फत पौडेलसँग सम्पर्क भएको थियो । पौडेलले विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाएर नजिकिएर आफूलाई बलात्कार गरेको पीडितको अभियोग छ ।

पीडित महिलाले आफ्नो डेरा कोठामा आएर पहिलो पटक २०७८ सालको माघ २१ गते पौडेलले जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

कोठामा आएर त्यतिबेला विवाह गर्नेभन्दै पौडेलले इच्छाविपरीत करणी गरेको जाहेरीमा उल्लेख रहेको प्रहरी भनाइ छ ।

पौडेललाई २०८० असार ७ गते पक्राउ गरेर महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालीमाटीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

खाना खाने निहुँमा डेरामा आएर पहिलोपटक बलात्कार गरेका पौडेलले त्यसपछि पटक–पटक विवाह गर्छु भनेर इच्छा विपरीत बलात्कार गरेको पीडितले आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन् ।

‘२०७९ भदौ १६ मा आरोपितले हनुमानथानस्थित उनको डेरामा बोलाएर त्यहाँ बोल्न कराउन नदिई मुख थुनेर इच्छा विपरीत जबर्जस्ती करणी गरे’ पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘घटनाबारे कसैलाई भनेमा तेरो आमाको ज्यान समेत लिन्छु भनेर अनुचित प्रभावमा पारेर बलात्कार गरेका हुन् ।’

Published : Thursday, 2023 July 6, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया