काठमाडौं प्रहरीद्वारा तीन जनालाई पक्राउ, ठूलो संख्यामा ट्यब्लेटहरू बरामद

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार साँझ तारकेश्वर नगरपालिका वडा नं. ११ हिलेटोलस्थित ३५ वर्षीय लोकबहादुर तिमिल्सिनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । मोरङको बेलबारी नगरपालिका वडा नं. ८ स्थाई घर भई तिमिल्सिना हाल तारकेश्वर नगरपालिकाको वडा नं. ११ हिले टोलमा डेरा गरी बस्दै आएका छन् ।

तिमिल्सिनाले संचालन गरेको खाजा–घर टहरामा चिया खाजाका साथै लागुऔषधसमेत बिक्री हुन्छ भन्ने सूचनाको आधारमा खाजा घरको टहरामा प्रहरीले छापामारेको थियो ।

लुकाई–छिपाई राखेको अबस्थामा लागुऔषध फेलापारी बरामद गरी तिमिल्सिनालाई नियन्त्रणमा लिइएको छ ।

काठमाडौं जिल्ला अदालतबाट १० को म्याद थपको अनुमति लिई प्रहरी वृत्त बालाजुबाट तिमिल्सिनाउपर थप अनुसन्धान भइरहेको छ ।

तिमिल्सिनाको साथबाट प्रहरीले १२०६ ट्याबलेट, सत्तरी हजार रुपियाँ, सामसुङ मोबाइल बरामद गरेको छ ।

यता, चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

बारादेखि काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ६३७६ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध बरादम भएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा बाराको खोपवा गाउँपालिका वडा नं.२ बस्ने वर्ष १९ को रामलाल पासवान र भारतको बरियारपुर घर भइ हाल बाराको खोपवा गाउँपालिका वडा नं. २ बस्ने वर्ष १९ को रोशन मण्डल रहेका छन् ।

बसको क्याबिन १ र २ सिटमा सवार व्यक्तिहरूले ल्याएको ओप्पो लेखेको निलो रातो रंगको झोलामा निलो रंगको तीन वटा प्लाष्टिकमा लागुऔषध लुकाई–छिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोटमा राखी उनीहरूसँग प्रारम्भीक अनुसन्धानको क्रमममा सोधपुछ गरिएको छ ।

उनीहरूले थप लागुऔषध बसको डिक्कीभित्र बोरामा लुकाई–छिपाई प्लाष्टिकको बोरामा राखी बसको ब्याट्री राख्ने डिक्कीमा राखेको भेटिएको छ ।

बसलाई भक्तपुर नगरपालिका वडा नं. १ चुनदेवीमा तलासी लिएर बोरामा रहेको लागुऔषध प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

उनीहरूको साथबाट सयौँको संख्यामा एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2023 July 6, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया