पेस्तोल बोकेर हिँड्ने गीता भैरहवामा पक्राउ

काठमाडौं । प्रहरीले भैरहवाबाट भारतीय नागरिक ४३ वर्षीया गीता तिवारीलाई पक्राउ गरेको छ ।

भारतको गोरखपुरमा ‘लेडी डन’को नामले चर्चित गीतालाई प्रहरीले भैरहवामा पक्राउ गरेको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी गीता धरौटीमा रिहा भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न चोरीको घटनामा संलग्न रहेको अभियोगमा गीतालाई पक्राउ गरेको जनाएको छ ।

गीता गोरखपुरमा बस्दै आएकी छिन् । वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित ५० लाख बराबरको चोरी गरेको घटनामा गीता संलग्न रहेको प्रहरीले जनाएको छ ।

वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा.नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप, तीन लाख ८० हजार गीताले चोरी गरेकी थिइन् ।

जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको गीतालाई आरोप छ ।

गीताको समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइललगायत नगद एक लाख १५ हजार रुपियाँ लुटेको प्रहरीले जनाएको छ ।

गीतालाई सिद्धार्थनगर नगरपालिका–३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गीतासँग कटुवा पेस्तोलजस्तो देखिने पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउण्ड, दुईवटा खुकुरी, एक चक्कु, सलाई रिन्च तीन वटा, छिनो, मोटरसाइकल, भारतीय नम्बर प्लेट भएको स्कुटर, ग्यासकटर, सात हजार छ सय ६५ नेपाली रुपियाँ र पाँच हजार चार सय ४५ भारतीय रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।

गीताको समूहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2023 July 6, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया