होटल जंगल ईनको दोस्रो तल्लाबाट दुई मान्छे पक्राउ

काठमाडौं । महोत्तरी जिल्लामा दुई वटा सुन पसलबाट लाखौँको सामान लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलीले असार १५ गते बाराको निजगढ नगरपालिका वडा नं. ८ स्थित होटल जंगल ईनको दोस्रो तल्लाबाट दुई जनालाई पक्राउ गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.११ बस्ने अर्जुन चौधरी र सोही वडा एरियामा गाडी सञ्चालन गरी बस्ने ईद्रिस देवानको छोरा वर्ष २७ को सावीर देवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

असार १० गते राति बिहानको समयमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ स्थित श्रीहरि ज्वेलर्स सुन चाँदी पसलबाट अन्दाजी १५ लाख २० हजार र वडा नं.१४ मा रहेको न्यू ओम साई ज्वेलर्सबाट अन्दाजी ३७ लाख ३६ हजार बराबरको सुन चाँदीका गरगहनाहरू चोरी/डकैती भएको थियो ।

अपरिचित व्यक्तिहरू सटरको ताल्चा फुटाई सुन चाँदीका गरगहना राखेको लकर (सेफ भल्ट) समेत डाँका/चोरी गरी लगेका थिए ।

ज्वेलर्सहरूभित्र तथा पसल वरपरी जडान भएको सीसीटीभी फुटेजबाट प्रहरीले प्रारम्भीक अनुसन्धान शुरु गरेको थियो ।

नाम, थर, वतन नखुलेका ४/५ जना पुरुष व्यक्तिहरूले यकिन नम्बर नखुलेको सेतो रङको बोलेरो गाडीमा आई दुई वटा ज्वेलर्सहरूमा डाँका/चोरी गरी बर्दिवास भोला बसन्त चौकबाट पूर्व पश्चिम लोकमार्ग सडक खण्ड हुँदै पश्चिमतर्फ गएका थिए ।

सेतो रङको बीआर ०१पीडी८१५८ नम्बरको भारतीय बोलेरो गाडी असार १२ गते रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाबाट बरामद भएको थियो ।

पक्राउ परेका व्यक्तिहरूले बताए अनुसार डाँका गरी लगेको फलामको सेफ (भल्ट) रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने चोचा जंगलमा जमीनमुनी गाडिएको अवस्थामा बरामद भएको छ ।

पक्राउ परेका डाँका/चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

वारदातमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ । चोरी डकैतीमा प्रयोग भएका सामग्रीहरूलाई प्रहरीले बरामद गरेको छ ।

Published : Tuesday, 2023 July 4, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया