तुलसीपुरका खतरनाक अपराधी नवीन बस्नेत काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ३१ वर्षीय नविन बस्नेतलाई पक्राउ गरेको छ ।

सोमबार व्यूरोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बस्नेतलाई असार १७ गते बेलुका काठमाडौंको काभ्रेस्थलीबाट पक्राउ गरिएको छ ।

व्यूरोका अनुसार अध्ययन तथा नागरिता बनाउने कामको सिलसिलामा दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ५, नयाँ बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा दाजु नाता पर्ने एकजना व्यक्तिको साथमा बास बसेकी जाहेरवाला एक जना महिलालाई बस्नेत समेतका प्रतिवादीहरूले अपहरण गरेर सामूहिक बलत्कार गरेका थिए ।

बस्नेतको समूहले मिति २०६७/०३/१५ गते राति अं. ११:३० बजे जाहेरवालाका साथमा भएका व्यक्तिलाई लछार–पछार, कुटपिट गरी भगाई पीडित महिलालाई अपहरण गरी सामूहिक बलात्कार भएको थियो ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगेर महिलालाई सामूहिक जबरजस्ती करणी गरेका थिए ।

अपहरण तथा जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको मिति २०७९/०२/१० गतेको फैसलाले प्रतिवादी बस्नेतलाई साविक मुलुकी ऐन बमोजिम ६ वर्ष कैद हुने ठहर गरेको छ ।

व्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बस्नेतलाई मिति २०८०/०३/१७ गते बेलुका काभ्रेस्थली, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८०/०३/१८ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 July 3, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया