काठमाडौंको जस्तै घटनालाई लिएर रौतहटमा भयो अपराध, आमा र दुधेछोरीले संसार छाडे

काठमाडौं । रौतहट जिल्लामा २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका छन् ।

मौलापुर नगरपालिका वडा नं. ४ पतौरामा कविता देवी साह ‘माला’ र उनी छोरी आरुहीकुमारी साहको घरमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख (प्रहरी उपरीक्षक) वीरबहादुर बुढा मगरले बताएका छन् ।

दुई वर्षीया बालिका आरुही कुमारीको शव पंखामा झुन्ड्याइएको अवस्थामा फेला परेको एसपी मगरले बताए ।

कविता देवीको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी उपरीक्षक मगरले बताएका छन् । घटना शनिबार बिहान करीव ३ बजेको समयमा भएको प्रहरीको अनुमान छ ।

आमा र छोरीको हत्या भएको हो वा आत्महत्या हो अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मगरले बताएका छन् ।

मृतक कविता देवीका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह स–परिवार घटनापछि फरार भएका छन् ।

माधवनारायण नगरपालिका वडा नं. ५ मिठुअवा घर भएका मृतक कविता देवीका पिता विजयशङ्कर साहले घटनाबारे जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटनास्थलमा जान नदिएको बताए ।

छोरी र ज्वाइँबीच पटक–पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई–बुझाई गरेको विजयशंकरले बताएका छन् ।

कविता देवीका पिता विजयशंकरले ज्वाइँ धिरेन्द्र साहबाट पटक–पटक दाइजो माग्दै आएको बताएका छन् ।

छोरीलाई पटक–पटक दाइजो बहानामा ज्वाइँले कुटपिट गर्ने गरेको विजयशंकरको आरोप छ ।

कविता देवीका बुबा विजयशंकरले आफ्नी छोरी र नातिनीको हत्या भएको आरोप लगाएका छन् । उनले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

४/५ दिन अगाडि काठमाडौंमा अमेरिकाको ग्रिनकार्ड भएका युवकले विवाह मण्डपमा दाइजो नगद ५० लाख माग गरेर भाँडभैलो मच्चाएका थिए । ती युवकलाई प्रहरीले पक्राउ गरेर खोरमा राखेको छ ।

Published : Saturday, 2023 July 1, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया