अमेरिकन ग्रिन कार्डवाला बेहुला काठमाडौंमा ५० लाख मागेपछि प्रहरी खोरमा पुगे, २२ लाख खाइसके

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले विवाह मण्डपबाट बेहुलालाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौं महानगापालिका वडा नं. १ नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा प्रहरीले वर्ष ३२ को अनुराग रौनियारलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

सुनसरीको दुहवी नगरपालिका वडा नं. ६ स्थाई घरभई हाल काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल बस्ने रौनियारलाई ५० लाख दाइजो मागेको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रौनियार अमेरिकामा बस्दै आएका छन् । रौनियार अमेरिकाको ग्रिनकार्ड लिएका व्यक्ति हुन् ।

मंगलबार काठमाडौं महानगापालिका वडा नं. १ नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले आफूहरूले मागेजती दाइजो नपाएको भनि विवाह रद्द गर्ने निर्णय गरेको विषयलाई लिई दुई पक्षबीच विवाद भएको थियो ।

दाइजोको विषमया विवाहमा विवाद भएको सूचना पाउनासाथ प्रहरीको टोली रौनियारलाई पक्राउ गरेको छ ।

एकजना युवतीसंग काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुने क्रममा बेहुला पक्षले विवाहमा आफूहरूले मागेजति बमोजिम दाइजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि विवाद गरेका थिए ।

विवाहमा दुलाहको पक्षले पचास लाख रुपियाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएर मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइजती तथा हातपात गरेको एसएसपी कार्कीले बताएका छन् ।

वेहुलालाई प्रहरी वृत्त मालीगाउँले नियन्त्रणमा लिइएको छ । विवाहमा विवाह खर्च वापत केटा पक्षले पटक पटक गरी बाईस लाख रुपियाँ लगेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसएसपी कार्कीले बताएका छन् ।

घटनाको सम्बन्धमा पक्राउमा परेका व्यक्ति रौनियार उपर विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2023 June 27, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया