विमानस्थलमा लिम्बूको साथबाट साढे ४ किलो माल बरामद, जमुनाहबाट दाङका भरतकुमार पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित मानिस पक्राउ गरेको प्रहरीले जनाएको छ ।

४ किलो ७ सय ५० ग्रामसहित झापाको भद्रपुर नगरपालिका–४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा लागुऔषध बरामद भएको थियो ।

उनको लगेजभित्र फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा विस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उता, बाँकेको नेपालगंज उप–महानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम दाङको बबई गाउँपालिका–३ बस्ने २८ वर्षीय भरतकुमार केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.७ प ६०२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक केसीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–६ बस्ने २१ वर्षीय नन्दराम गडरिया र २० वर्षीय अनिल हरिजन गौतम रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले भे.१२ प ६३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उप–महनगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ७ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय योगेन्द्रबहादुर देउवालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उप–महानगरपालिका–३ बस्ने २० वर्षीय आशिष भण्डारी र सोही ठाउँ बस्ने २३ वर्षीय राजेन्द्र बोहरा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ९९ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापा गाउँपालिका–४ स्थित झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय २० मिलिग्रामसहित काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ बस्ने ३८ वर्षीय अच्युत कुमार मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2023 June 23, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया