व्यूरोद्वारा ६ जनालाई पक्राउ, संगीता पनि घानमा परिन्

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले लागुऔषधसहित ६ जना कारोबार गर्ने मानिसहरूलाई पक्राउ गरेको छ ।

व्यूरोले काठमाडौं उपत्यका लगायत बिभिन्न जिल्लाका बिभिन्न स्थानहरूमा लागुऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापामारेर ६ जनालाई पक्राउ गरेको शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई अबैध लागुऔषधसहित पक्राउ गरी निजहरूउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालतहरूबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

व्यूरोले जेठ ३२ गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ बाट भोजपुर जिल्ला टेम्केमैयुङ बस्ने वर्ष ३० को लाक्पा शेर्पा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ३ बस्ने वर्ष १८ की संगीता तामाङलाई खैरो हेरोईन ६५ ग्रामसहित पक्राउ गरेको छ । उनीहरूसँग व्यूराले डिजिटल तराजु थान १ तथा नगद तीन लाख उन्नाईस हजार बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा बुझाइएको छ ।

जेठ २६ गते व्यूरोले पर्साको बीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट वर्ष २१ को ओहान हुसेन अन्सारीलाई नाईट्रोभेट १२०० ट्याब्लेटसहित पक्राउ गरेको छ ।

जेठ २७ गते व्यूरोले कैलालीको कैलाडी गाउँपालिका वडा नं. ७ रामपुरबाट वर्ष ५४ का सुकानु चौधरीको साथबाट खैरो हेरोइन ३८ ग्राम ४८० मिलिग्रामसहित पक्राउ गरेको छ ।

जेठ २७ गते व्यूरोले सिरहाको लहान नगरपालिका वडा नं. १ रमेशचोकबाट वडा नं. ५ बस्ने वर्ष २६ का मोहमद एकपाल मियाँको साथबाट डाईजेपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप्रेनोर्फिन ५०० एम्पुलसहित पक्राउ गरेको छ ।

जेठ ३१ गते व्यूरोले बाँकेको नेपालगंज उप–महानगरपालिका वडा नं. १५ जमुनहाबाट बाँकेको कोहलपुर नगरपालिका १२ चपरगौडी बस्ने वर्ष १८ का ज्ञानेन्द्र बिकलाई खैरो हेरोइन २० ग्रामसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 June 16, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया