काठमाडौं प्रहरीद्वारा बानियाँलाई हतियारसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले हतियारसहित ३२ वर्षीय रमेश बानियाँलाई पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ घर भएका बानियाँलाई पेस्तोल १ थानसहित पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमार्फत जनाएको छ ।

बानियाँको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचना पाउनसाथ प्रहरी परिचालन भएको थियो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बानियाँले बोकेको झोला सडकमा फाली फरार भएका थिए । प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो ।

प्रहरीले बानियाँलाई खोजी गर्ने क्रममा भक्तपुरको नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो ।

उता, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा बस्ने २१ वर्षीय शशि राईलाई भरुवा बन्दुक २ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको छ ।

Published : Thursday, 2023 June 15, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया