तनहुँमा पत्नीले दुई वटा सिम राखेपछि गयो ज्यान

काठमाडौं । तनहुँ जिल्लामा बोराभित्र मृत फेला परेकी महिलालाई आफ्नै पतिले हत्या गरेर फालेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

तनहुँ प्रहरीले बुधबार साँझ पत्रकार सम्मेलन गरेर २२ वर्षीया रंगिला भुजेलको हत्या उनका पति २० वर्षीय मनोज विष्टले गरेको जनाएको छ । रंगिलाले दुई वटा सिम राखेको विषयमा उनीहरूबीच विवाद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका–५ मैबल घर भई व्यास नगरपालिका–४ स्थित डेरामा बस्ने मनोज विष्टलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो । एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए ।

उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताएका छन् ।

हत्यापछि उनले व्यास–४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए । हात बाँधिएको अवस्थामा बोराभित्र राखेर शव उक्त स्थानसम्म पुर्‍याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मंगलबार बिहान स्थानीयले गन्ध आएको थाहा पाएपछि शव फेला पारेका थिए ।

अनुसन्धानको क्रममा सुरूमा मृतकको पहिचान खुलाउने प्रयास गरिएको थियो । मृतकको सनाखत भएसँगै अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2023 June 14, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया