धनुषामा उषाको हत्या गरेर खाल्डोमा गाड्ने युवक पक्राउ, चितवनमा भेटिए अभियुक्त

जनकपुरधाम । महिलाको हत्या भएको अभियोगमा धनुषामा प्रहरीले २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका–८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या आरोपमा बाराको कलैया नगरपालिका–१८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने मण्डल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।

मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलबार सार्वजनिक गरिएको छ । जेठ २८ गते साँझ प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो ।

एसपी खड्काका अनुसार मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

विवाह गर्न कर गरेपछि ओमलालले उषाको हत्या गरेको प्रारम्भीक अनुसन्धानका क्रमाम खुलेको एसपी खड्काले बताएका छन् । एसपी खड्काले भने, ‘ओमलाल र उषाबीच अनैतिक सम्बन्ध रहेको खुल्न आएको छ । उषाले पटक–पटक ओमलाललाई विवाह गर्न भन्ने गरेको तर, ओमलालले नमानेर पटक–पटक टाढा रहन खोज्थे । बेलाबेला महिलाले उनलाई जबरजस्ती घरमा ल्याउने गरेको खुल्न आएको छ ।’

एसपी खड्काले भने, ‘२५ गते राति ११ बजेतिर दुबै जनाबीच बिहेकै विषयमा विवाद भयो । ओमलालले एक थप्पड हाने र थप्पड हान्नसाथ उषा बाहिर निस्केर भाग्न लाग्दा उनले घाँटी थिचेर मारेको अनुसन्धानमा देखिएको छ ।’

उषाको मृत्यु भइसकेपछि ओमलालले शवलाई चाँडो सडाउनको लागि उनको कपडा खोलेर नाङ्गै खाल्डोमा गाडेका थिए । सो कपडा पोखरीको अर्को छेउमा गाडेर उषाले प्रयोग गरेको मोबाइल समेत पोखरीमै फालेको खुलेको खड्काले बताए । उषाको हत्या भएको दिन उषाका छोरा सोनु दास श्रीमतीसहित कमला नगरपालिका– ३ लग्मास्थित ससुराली गएका थिए ।

ओमलाल पटक पटक घरमा आउजाउ गरिरहेको सोनुबाट खुलेपछि उनैले हत्या गरेको हुनसक्ने प्रहरीलाई शंका लागेको थियो । उषाका श्रीमान रामचन्द्र दासको १० वर्षअघि मृत्यु भएको थियो ।

उषाको २० जेठमा नै हत्या भएको थियो । २८ गते साँझ ५ बजे पोखरीको छेउमा जनावरले खोस्रेको देखेपछि शंका लागेर स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उत्खनन गरेपछि उषाका छोराबुहारीले शव सनाखत गरेका थिए । एकल महिला उषाको हत्या उनका छोराबुहारी घरमा नभएको बेला भएको थियो ।

प्रहरीले मृतक उषाको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

Published : Tuesday, 2023 June 13, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया