ससुराले रोटी पकाइरहेकी बुहारीलाई…

काठमाडौं । कैलालीमा बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले सासू–ससुरासहित ३ जनालाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो ।

सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबीर बुढालाई नियन्त्रणमा लिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको बताएका छन् ।

प्रारम्भीक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारिक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले बताए ।

बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्‍याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।

शव गाडिसकेपछि उनीहरूले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि उनीहरू फरार भएको प्रहरीको भनाइ छ ।

जेठ २२ गतेसम्म कञ्चनपुरको बीचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरूलाई शनिबार भने घर ठेगानाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक कविताका श्रीमान विगत एक वर्षदेखि दोस्रो विवाह गरेर भारतमा बस्दै आएका छन् । कविताका दुई जना छोरा–छोरी छन् ।

Published : Sunday, 2023 June 11, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया