परपुरुषको भाँउतोमा लागेर निशाद्वारा आफ्नै पतिको हत्या

काठमाडौं । नवलपरासी जिल्लामा परपुरषको गलत कुरामा लागेर एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् ।

रामग्राम नगरपालिका–१४ पर्सावलमा श्रीमानको हत्या आरोपमा प्रहरीले हशिवुन निशालाई पक्राउ गरेको छ ।

निशाले आफ्ना पति २९ वर्षीय अब्दुल नसिम खाँको हत्या गरेको प्रहरीले जनाएको छ । भारतीय नागरिकसँग मिलेर बिहीबार मध्यराति श्रीमानको हत्या गरेको रहस्य खुलेको छ ।

मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि खेतमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताएका छन् ।

हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हत्या भएका व्यक्तिको श्रीमती निशा भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ ।

उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि निशाले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि निशाले आफ्ना श्रीमान् बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । अनुसन्धान गर्दै जाँदा आफैंले श्रीमानको हत्या गरेर आफैंले प्रहरीको उजुरी दिन आएको तथ्य खुलेको छ ।

आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको निशाले प्रहरी समक्ष बयान दिएकी छिन् ।

हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2023 June 5, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया