प्रहरीद्वारा काठमाडौंबाट पाख्रिन र बुढाथोकी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई जना व्यक्तिलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ ।

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखाको बैतेश्वर नगरपालिका–३ मिर्गे घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिनलाई मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु भनेर ठगी गरेको उजुरी विभागमा परेको थियो ।

उनले मासिक १ लाख रूपियाँभन्दा धेरै तलब हुन्छ भनेर प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ४० लाख रूपियाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट प्रहरीलाई पत्राचार भएको थियो ।
प्रहरीले उनलाई ललितपुर महानगरपालिका–३ पुल्चोकबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

उता, वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रूपियाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी १२ लाख रूपियाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 May 31, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया