निगमको जहाज अष्ट्रेलिया उड्ने, मलेसियाको भाडा घट्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ ।

सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले निगमको जहाज सिड्नी विमानस्थलमा स्लट (उडान/अवतरण गर्ने समय) प्राप्त गरेको बताएका छन् ।

निगमले २१ जुन (६ असार)मा पहिलो उडान गर्ने गरी प्रस्ताव गरेको गरेको छ । नेपाल र अष्ट्रेलियाबीच चार वर्ष अगाडि नै हवाई सेवा सम्झौता भइसकेको थियो । व्यावसायिक उडान भने हुन सकेको थिएन ।

निगमले अहिले जापान र साउदी अरबमा तुलनात्मक रुपमा लामो दुरीको उडान गरिरहेको छ । अष्ट्रेलिया उडानले ठूलो संख्यामा रहेका नेपालीसँगै यी दुई मुलुकबीच आवत–जावत गर्ने पर्यटकलाई समेत सुविधा पुग्नेछ ।

अन्तर्राष्ट्रिय उडानमा रहेका चार जहाजमध्ये निगमले वाइडबडी ए–३३० जहाज उडाउने तयारी गरेको छ ।

यता, निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपियाँ तोकेको यो रुटको भाडा अब ११ हजार ४६१ रुपियाँमा झारिएको निगमले जनाएको छ ।

काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्नेछ । क्वालालाम्पुरबाट भैरहवा अवतरण गरेपछि सो जहाज भैरहवाबाट काठमाडौं आउनेछ ।

गौतमबुद्ध विमानस्थलबाट निगमले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुनेछ । यो रुटमा २९ जेठ (१२ जुन)बाट निगमले सातामा एक उडानको तयारी गरेको छ ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपियाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपियाँ थियो । यो रुटमा यात्रुले ४५ किलो ब्यागेज नि:शुल्क बोक्न सक्नेछन् ।

Published : Thursday, 2023 May 25, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया