प्रहरीले मनीषलाई पोखरामा पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । प्रहरीले पोखराबाट अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई–फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरी सो कार्यको स्क्रिन रेकर्ड गरेका थिए ।
पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि भुजेलले धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाएका थिए ।
भुजेलले पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दु:ख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा भुजेललाई पोखराबाट पक्राउ गरेको छ ।
भुजेलउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया