निगमले दुई वटा जहाज किन्ने प्रक्रिया अगाडि बढायो

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा जहाजको खरिद प्रक्रिया अगाडि बढाएको छ ।

प्रादेशिक हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उप–समितिले आफ्नो प्रतिवेदन पेश गरेको निगमका प्रवक्ता रमेश पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यस कार्यमा विशेष पहल गरि यथाशक्य छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टन सुधिरशम्शेर राईको संयोजकत्वमा नौं सदस्यीय उप–समिति गठन गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

उप–समितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरि कार्य समेत शुरु गरिसकेको निगमका प्रवक्ता पौडेलले जनाएका छन् ।

निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने जनाएको छ ।

जहाज किन्नका लागि निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरि नियमानुसार पारदर्शी रुपले खरिद गर्ने जनाएको छ ।

Published : Thursday, 2023 May 11, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया